काठमाण्डू, २० माघ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन ।
केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाण्डू जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो दुर्घटनामा भुटानका एकसहित तीन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएको सुमो सडकको भित्तातर्फ पल्टिँदा भुटान थिम्बुका ७२ वर्षीय वृद्ध कार्दुङ, डोटीको पुर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते भएका हुन् ।
घाइतेहरूलाई उपचारका लागि उदयपुरको जनसेवा क्लिनिक घुर्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिएका छन ।
भुटानी नागरिक कार्दुङको टाउको र जोशीको काँधमा भित्री चोट लागेको छ । उनीहरू हलेसीमा दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
हाल घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुमोमा सात यात्रु सवार थिए । चार जना भने सकुशल छन् । सुमो चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ का ३७ वर्षीय बुद्धमान श्रेष्ठलाई प्रहरीचौकी च्यास्मीटारले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।