खैरो हेरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

काठमाण्डु टुडे २०८२ माघ २० गते १४:२० मा प्रकाशित

काठमाण्डू, २० माघ– भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाण्डू जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेकी छन् ।

भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार अपराह्न ५ः ३५ बजेतिर जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन लुकाएर राखेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन ।

हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको र उनको बयानका आधारमा लागूऔषध कारोबारको गिरोहमा संलग्न थप दुई व्यक्तिलाई काठमाण्डूबाट पक्राउ गरिएको उनले जानकारी दिए ।

काठमाण्डूस्थित लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङलाई सोही कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us