काठमाण्डू, २० माघ– कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संघीयता भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको तर्क गरेका छन ।
आज (मंगलबार) सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले यस्तो बताएका हुन । उनले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको पनि बताएका छन । अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देखिएको पनि बताएका छन ।
संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको भन्दै उनले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँटको सूचीमा समेत समस्या रहेको पनि बताएका छन ।
सिटौलाले कतिपय ठाँउमा प्रदेश सरकारभन्दा बढी स्थानीय सरकारले राम्रो काम गरेको देखिएको उल्लेख गरे । उनले संघीयताको कार्यान्वयन सम्बन्धमा प्रतिनिधिसभा, राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टिकोण बनाउनुपर्ने पनि बताएका छन ।
बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समीक्षा र मस्यौदा प्रतिवेदनमाथि छलफल भएको थियो ।