काठमाण्डू, २० माघ– काठमाण्डू–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोर्खाको शहीद लखन गाउँपालिका–२ का ३४ वर्षीय जीवन परियार रहेको प्रहरीले जनाएको छ । धनगढीबाट काठमाण्डूतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले मंगलबार बिहान इच्छाकामना गाउँपालिका–४ केबलकार गेट अगाडि उनलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार उपचारका लागि अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
बस चालक कैलालीको लम्कीचुवा नगरपालिका–१२ का ४२ वर्षीय सुभाष विश्वकर्मालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।