पोखरालाई हराउँदै लुम्बिनी लायन्सको दोस्रो जित

काठमाण्डु टुडे २०८२ मंसिर १३ गते १५:४३ मा प्रकाशित

काठमाण्डू, १३ मंसिर– लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पार्न सफल भएको छ । आज (शनिबार) कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै दोस्रो जित हात पार्न सफल भएको हो । पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्न सफल भएको हो ।

जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दीप जोराले २ चौका प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए । यो जितपछि लुम्बिनीले लगातार तीन हारको शृङ्खला ब्रेक गरेको छ र राहत मिलेको छ । पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ । लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए ।

यस्तै यसै खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकन ब्याटर निरोशन डिकवेलाले ३७ रन योगदान गरे । सन्दीप जोराले अविजित २५ रन बनाउन सफल भएका हुन । बलिङमा पोखराका विपिन खत्री, म्याट टेलर र सागरढकालले समान दुईरदुई विकेट लिन सफल भए । यसअघि ब्याटिङ गरेको पोखराले विकेटकिपर ब्याटर एडम रोसिङगटन र जीमी नीशमले अर्धशतकमा १५० रन बनाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कमजोर सुरुवात गरेपनि रोसिङ्गटन र जिमी नीशमले उत्कृष्ट साझेदारी गरेपछि ५ विकेट गुमाएर १५० रन पुर्याएको थियो । ओपनर रोसिङ्गटनले ६३ बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८१ रन बनाए ।

यस्तै नीशमले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५१ रन बनाए । रोसिङ्गटन र नीशमले पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुईरदुई तथा गुलबादिन नइबले एक विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us