काठमाण्डू, १२ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले बिहीबार भएको खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पार्न सफल भएको छ ।
पाँच खेल खेलिसकेको काठमाण्डूले तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लन सफल भएको छ । विराटनगर समान अंक भए पनि रनरेटमा काठमाण्डू पछि रहेको छ । काठमाण्डूले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो ।
चितवनका लागि देव खनाल र रबि बोपाराले समान २१ रन बनाए भने सोहे तनविरले १८ रन बनाउन सफल भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लागि रासिद खानले १.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिन सफल भए । कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले समान दुईरदुई विकेट लिए । आजको खेलमा दुई विकेट लिएका करण र मिलिन्दको विकेट संख्या ९ पुगेको छ ।
यी दुई खेलाडीसँगै विराटनगरका कप्तान सन्दीप लामिछाने र सुदूरशप्चिमा हर्मित सिंहले पनि समान ९ विकेट लिएका छन् । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डूले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो । काठमाण्डूका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए ।
उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
तर, सिम्पसन १७औं ओभरमा आउट भएपछि काठमाण्डूका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन् । १५ ओभरमा १०९र३ को अवस्थामा रहेको काठमाडौंले त्यसपछि थप ३३ रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो । चितवनका बलरले उत्कृष्ट कमब्याक गरेपछि काठमाण्डू अलआउट भएको थियो ।