काठमाण्डू, ३ कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–२ लदरी खोला पुलमा रोकिराखेको ग्यास बुलेटमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
एच.आर.३८ ए एफ ६१२६ नम्बरको ग्यास बुलेटमा बागमती प्रदेश ०३– ००२ प ३२३० नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक खैरहनी–२ का मनिष बोगटीको मृत्यु भएको हो ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका बोगटीलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
चितवन प्रहरीका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार ग्याँस बुलेटका चालक भारत बिहार राज्य सिवान जिल्लाका ५९ वर्षीय दशरथ प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सोमबार बिहान साढे ४ बजेको समयमा भरतपुर महानगरपालिका–४ धर्मचोकमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
चौबिसकोटीबाट बिशालचोकतर्फ जाँदै गरेको लु३च ५३५७ नम्बरको कार अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।