काठमाण्डू, ३० असोज– नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन । आज (बिहिबार) निर्वाचन आयोगले दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी नेता गुरुङले यस्तो बताएका हुन ।
उनले माओवादी निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको तर्क गरे । सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनका लागि कुनै भूमिका नखेलेको उनको आरोप छ । उनले सरकार राजनीतिक दलहरूको विरुद्धमा लागिरहेको पनि जिकिर गरे ।
सरकाले दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडि बढाएको उनको भनाइ छ । सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको उनले बताएका छन ।
उनले भने,‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो । निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो । सरकारले निर्वाचनका लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ, ‘त्यसकारण सरकारले न भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका निर्वाह गर्नुपर्छ ।’