काठमाण्डू, २९ असोज– नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको छ । आईसीसी टी -२० विश्वकप एसिया इएफी छनोट अन्तर्गत बुधबार भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान एकआपसमा खेल्नुअघि नै विश्वकपमा छनोट भएका हुन् ।
नेपाल र ओमानबीच बुधबार राती हुने खेलको विजेताले टी(२० विश्वकपमा स्थान बनाउने समिकरण थियो । तर त्यसअघिका भएका दुवै खेलको नतिजा आफू अनुकल आएपछि नेपाल र ओमानले सुपर सिक्समा दुई खेल खेल्नुअघि नै विश्वकपमा छनोट भएका हुन । सुपर सिक्समा नेपाल र ओमानले यसअघि नै लगातार दुई खेल जित्दै समान ६ अंक जोडिसकेको छ ।
सुपर सिक्समा शीर्ष तीनमा रहने टोली विश्वकप पुग्ने प्रावधान रहेको छ । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएर सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालले यूएई र कतारलाई हराइसकेको छ भने ओमान र सामोअसँग खेल्न बाँकी छ । यस्तै ओमानले पनि कतार र युएईलाई नै पराजित गरिसकेको छ ।