काठमाण्डू, १४ भदौ– कप्तान रोहित पौडेलको अविजित शतक मद्दतमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेल जित हाता परेको छ ।
आज (शनिबार) भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टाउदै विजयी हुन सफल भएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाउन सफल भएका थिए , १६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे ।
सोमपाल ४० रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो ।
साउथ अस्ट्रेलियाका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए । रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाउन सफल भएका थिए ।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए । टप एन्ड टी–२० सिरिज समाप्त भएपछि भएको अभ्यास टी–२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराउँदा एसएसँग भने पराजित भएको थियो ।