टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाण्डु टुडे २०८२ भदौ ३ गते १५:४३ मा प्रकाशित

काठमाण्डू, ३ भदौ– अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्न सफल भएको छ । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो ।

नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिन सफल भए । त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १–१ विकेट लिन सफल भएका थिए ।

होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रन बनाउँदा जेन कर्टेन २० रनमा नटआउट रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रन बनाए । लोकेश बम ११ बलमा २५ रनमा अविजित रहे । नेपालले अतिरिक्त ३२ रन पाएको थियो ।

होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । राफ माकमिलनले पनि २ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १–१ विकेट हात पारे । यसअघिका ३ वटै खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us