माधवसँग भेटवार्तापछि झलनाथको प्रतिक्रियाः उहाँलाई भेट्नु नै ठुलो उपलब्धि!

काठमाण्डु टुडे २०८२ साउन २५ गते १६:१२ मा प्रकाशित

काठमाण्डू, २५ साउन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । शनिबार दुई नेताबिच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । सम्मानित नेता खनालले अध्यक्ष नेपालसँग भेट हुनु नै ठुलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

केही दिनयता दुई नेताले एकअर्कालाई पार्टीबाट राजीनामा दिन चुनौती दिन थालेपपिछि पार्टीका अन्य नेताहरूले अध्यक्ष नेपाल र खनाललाई शनिबार भेटवार्ता गराएका थिए । नेताहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल र घनश्याम भुसालले अध्यक्ष नेपाल र सम्मानित नेता खनाललाई पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता गराएका हुन् ।

दुई नेताको भेटवार्तापछि समस्या समाधान हुने अपेक्षा नेताहरूले गरेपनि शनिबारको भेटमा समस्या समाधानबारे विषय प्रवेश र छलफल नै नभएको नेता खनालले जानकारी गराएका छन । उनले भने, ‘हिजो सामान्य भेटघाटमात्र भयो । मैले जिज्ञासा राखेँ, उहाँले आफ्नो कुरा अलि लामो भन्नुभयो । तर आजका समस्याका बारेमा केन्द्रित हुनुभएन ।

त्यसो गर्दागर्दै ४० मिनेट बितिगयो’, खनालले भने, ‘त्यसपछि जनकपुर जान हतार भयो भनेर उहाँ हिँड्नुभयो । फेरि बसेर छलफल गर्ने कुरा भएको छ ।’नेता खनालले सबैभन्दा ठुलो उपलब्धि नै अध्यक्षसँग भेट गर्नु रहेको भन्दै व्यङ्ग्य गरे ।

‘सारै ठुलो उपलब्धि भनेको हिजो उहाँसँग भेट भयो’, खनालले भने,‘ छलफल गर्दै जाऔँ र कुराहरू प्रस्ट पार्दै जाऔँ भन्ने पनि आशय व्यक्त भएको छ । तर उहाँका आफ्ना कुराहरू पनि भएकाले छलफल नगरी यस्तो भयो भन्नै सकिँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us