काठमाण्डू, २५ साउन– बजारमा गुण्डा नाइके पहिचान बनाएका चक्रे मिलन (मिलन गुरुङ) सँग भक्तपुर प्रहरीले पनि बयान लिएको छ । प्रहरी वृत्त थिमी र जिल्ला सरकारी वकिल कार्यालयले चक्रेसँग बयान लिएको स्रोतले जानकारी दिएको छ ।
दिव्यश्वरि टाउन प्लानिङस्थित बड्डाको तावामा भएको घटनामा शुक्रबार चक्रेसँग बयान लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले जानकारी दिएका छन ।०८१ भदौ १० मा उनको योजनामा मनिष रायमाझीमाथि भक्तपुरमा खुकुरी प्रहार भएको आरोप छ । वतन नखुलेको अवस्थामा जाहेरी दर्ता भएको भेटिएपछि प्रहरीले अहिले अनुसन्धान अघि बढाएको हो ।
पीडित रायमाझी त्यसबेला कागज गर्दा ‘चक्रेको योजनामा आक्रमण’ भएको बताएको अनुसन्धामा संलग्न अधिकृतहरू बताउँछन् । शुक्रबार चक्रेलाई काठमाण्डूबाट भक्तपुर लगेर ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा बयान लिइएको हो ।
चक्रेको योजनामा रायमाझीमाथि खुकुरी प्रहार गर्ने अजित खवासलाई परिचालन गरिएको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए । चक्रेसहित उनको समुहका ४७ जना साउन १५ मा महाराजगञ्जस्थित साम्बाला होटलबाट पक्राउ परेका थिए । उनीहरूमध्ये १९ जनालाई काठमाण्डू प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ ।