काठमाण्डू, ७ साउन– उच्च अदालत विराटनगरले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इटहरी नगर अधिवेशन रोक्न आदेश जारी गरेको छ ।
न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले साउन १२ गते दुवै पक्ष अदालतमा उपस्थित हुन आदेश दिएको हो । १० साउनका लागि तय भएको अधिवेशन रोक्न अदालतले बुधबार अल्पकालीन आदेश जारी गरेको हो । नगर अधिवेशन स्थगित गर्नुपर्ने माग गर्दै विष्णुबहादुर बस्नेतले रिट दायर गरेका थिए ।
बस्नेतले जीवनकुमार श्रेष्ठलाई विपक्षी बनाई रिट दायर गरेका थिए । रिट निवदेक बस्नेतलाई केन्द्रीय अनुशासन समितिले इटहरी उपमहानगरपालिको रास्वपा सभापति पदबाट निलम्बन गरेको थियो ।
जिल्ला सभापति रहेका जीवनकुमार श्रेष्ठलाई पनि अनुशासन समितिले पदबाट निलम्बन गरेको थियो । नगर सभापति बस्नेतलाई निलम्बन गरेको समयमा अधिवशेन गर्न नहुने तर्क जिल्ला, नगर तहका असन्तुष्ट नेताहरुले बताएका थिए ।
नगर अधिवेशनका संयोजकका महेश थापालाई केन्द्रले तोकेको थियो । थापाले १ र ३ नम्बर वडाको अधिवशेन गरेका थिए ।