काठमाण्डू, ७ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले मुलुकमा प्राण त्याग्ने अवसर समेत नदिएको स्मरण गरेका छन । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष समेत रहेका ओलीले यस्तो यस्तो बताएका हुन । ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरेका हुन् ।
आज पुष्पलाल स्मृति दिवस हो । हिजो नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस थियो । नेपालको राजनीतिलाई जहानियाँ राणा शासनबाट प्रजातन्त्रतर्फ लैजाने नेतृत्व गरेका बीपी र पुष्पलालप्रति प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पण गरे ।
‘बीपी र पुष्पलालालाई स्मरण गरिरहँदा आज म मतभेद र मनभेदको हैन, एकता र मेलमिलापको कुरा गर्ने अनुमति चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने । यहीँनेर प्रधानमन्त्री ओलीले पुष्पलालको प्राण त्यागको विषय स्मरण गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘मुलुकको समृद्धि र जनताको सुखका लागि जीवनपर्यन्त संघर्ष गर्ने पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन ।’
ओलीका अनुसार पुष्पलालले देखेको तानाशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चा मार्फत् २०४६ सालमा भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो । नेपाली कांग्रेसले नेतृत्व गरेको राजनीतिक धार र कम्युनिस्ट पार्टीले नेतृत्व गरेको राजनीतिक धारको एकताबाटै मुलुकमा परिवर्तन हुने र प्राप्त उपलब्धि संस्थागत हुने पुष्पलालको सोच पटक पटक नेपालको राजनीतिको प्रत्येक अप्ठ्यारो मोडमा प्रयोग भएको र सफलता समेत प्राप्त भएको बताए ।
०१७ सालको ‘कु’ पछि पुष्पलालले माग गरे झैं हाम्रो संयुक्त आन्दोलनले विघटित संसद्को पुनर्स्थापना ०६३ सालमा भएको बताए । जसले नेपालको राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदियो ।
अढाइ शाताब्दी लामो शाह वंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण गर्यो । हन्डर ठक्कर खाएपछि मात्र कार्यगत एकता गर्ने आनिवानी अनुरूप बिथोलिएको राजनीतिलाई ०७२ सालमा लयमा फर्काइएको पनि प्रधानमन्त्री ओलीले बताए ।