हामीले प्रतिस्पर्धालाई रोकेका छैनौंः एमाले

काठमाण्डु टुडे २०८२ साउन ७ गते १६:१४ मा प्रकाशित

काठमाण्डू, ७ साउन– सत्ता घटक दल नेकपा एमालेले आगामी महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाका लागि कसैलाई पनि नरोकेको बताएको छ । आज (बुधबार) एमालेको मुख्यानलय च्यासलमा सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा महासचिव शंकर पोरखेलले यस्तो बताएका हुन् ।

एमाले महासचिव पोखरेलले भने, ‘विधानले जो सुकैलाई प्रतिस्पर्धा गर्ने अधिकार दिएकै छ । भोलि अधिवेशन हुँदा वैधानिक व्यवस्थाले कुनै पनि प्रतिनिधिलाई यदी मापदण्ड पूरा गर्छ भने कुनै पनि पदमा उम्मेदवार बन्ने हक राख्छ ।

हाम्रो व्यवस्थाले कसैलाई पनि छेकेको छैन । प्रतिस्पर्धा बन्ने अधिकार सुरक्षित छ ।’ उनले दुई वर्षे कार्यकाल र ७० वर्षे उमेरहदको विषय हटाउनुले अध्यक्षको दाबेदार ओली नै हो भन्ने कुरा राजनीतिक भएको बताएका छन । उनले भने, ‘नेकपा एमालेभित्रको नेतृत्व विकासको सन्दर्भमा हेरिएको छ ।

हामीले दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाएको कारणले केपी शर्मा ओली निर्विकल्प, निर्विवाद हुनुभयो भन्ने कुरा राजनीतिक कुरा हो,’ उनले भने । उनले राजनीतिक कसैलाई छेकेर कसैलाई स्थापित गर्ने विषय नभएको पनि बताए ।

‘तर, केन्द्रीय कमिटीका अधिकांश सदस्यले मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भन्ने रायले विधानलाई खण्डित गर्दैन,’ उनले भने, ‘विधानको विषयमा हामी छलफल गर्दैछौं । यसले प्रतिस्पर्धालाई रोकेको छैन । खुला नै गरेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us