काठमाण्डू, ७ साउन– रौतहटको छुट्टाछुट्टै स्थानमा मोटर चलाएर धान रोप्न खोज्दा करेन्ट लागेर दुई किसानको मृत्यु भएको छ । धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रौतहटको कटहरीया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवान र माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा गए राति मोक्तार देवानलाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागि गरुडामा रहेको ग्रान्डी अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए ।
यसैगरी आज बिहान ७ बजेको समयमा आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा रामबाबु मुखियालाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागी प्रादेशिक अस्पताल गौर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिएका छन ।