काठमाण्डू, ७ साउन– आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ः०० बाट सुरु हुने भएको छ । पछिल्लो समय संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा पछिल्लो समय बिनाक्यालेन्डर बैठक सञ्चालनमा आएका छन् ।
संसद् सचिवालयले आजको सम्भावित कार्यसूची सार्वजनिक गरे पनि साउन महिनाभरिका बैठकहरूको तालिका भने अझै बनाएको छैन । सामान्यतः प्रतिनिधिसभाले १५÷१५ दिनको कार्यतालिका (क्यालेन्डर) बनाउने परम्परा रहँदै आएको छ ।
यसअघि असार १६ देखि ३२ गतेसम्मको क्यालेन्डर सार्वजनिक गरिएको थियो । तर, साउन महिनामा प्रवेश गरिसक्दा पनि संसद् बैठकको कुनै तालिका सार्वजनिक भइसकेको छैन । आजको बैठकको सम्भावित कार्यसूची भए पनि अब अर्को बैठक कहिले बस्ने भन्नेबारे जानकारी दिइएको छैन । साउन महिनाको सुरुआतको १५ दिनमध्ये आधा समय बितिसक्दा पनि सचिवालयले क्यालेन्डर निर्माण नगरेको देखिन्छ ।
यस्तै, राष्ट्रिय सभाको अवस्था पनि उस्तै छ ।साउन महिनाका लागि कुनै औपचारिक क्यालेन्डर नबनाइ राष्ट्रिय सभाको बैठक मंगलबार सम्पन्न भयो । अब अर्को बैठक साउन ११ गतेका लागि बोलाइएको छ ।