काठमाण्डू, ७ साउन– यस बर्ष देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स)ं कार्यक्रममा प्रवेश परीक्षा नहुने भएको छ ।
परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो । यससँगै अब देशभरिका इच्छुक विद्यार्थीलाई प्रवेश परीक्षाका लागि काठमाण्डू धाउनुपर्ने बाध्यता समेत हटेको छ ।
विगतमा हरेक वर्ष प्रवेश परीक्षा मार्फत मात्रै भर्ना लिइने गरिन्थ्यो । पछिल्लो समय केही प्राविधिक कार्यक्रममा विद्यार्थीको आकर्षण घट्दै गएकोले यस बर्ष बाट यस्तो निर्णय गरीएको सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए । नर्सिङ, स्वास्थ्य सहायक (एचए), र फार्मेसी बाहेकका कोटामा सिट खाली हुने गरेकाले पनि सीटीईभीटीले प्रवेश परीक्षाको नीति परिवर्तन गरेको हो ।
‘कतिपय कार्यक्रममा तोकिएको कोटाभन्दा पनि कम विद्यार्थी सहभागी हुन थालेपछि प्रवेश परीक्षाको औचित्यमै प्रश्न उठ्न थाल्यो,’ अधिकारीले भने, ‘४८ कोटा भएको कार्यक्रममा ४० मात्र विद्यार्थी आएपछि नयाँ नीति अपनाइएको हो ।’ उनका अनुसार प्रवेश परीक्षामा सोधिने प्रश्नसमेत गणित, विज्ञान र अग्रंजीमै केन्द्रित हुने भएकाले भर्खर एसईई दिएका विद्यार्थीका स्थायी मूल्यांकनलाई नै आधार बनाउने निर्णय गरिएको हो ।‘तीन घण्टाको हाम्रो प्रवेश परीक्षा र एसईईको तीन–तीन घण्टाको मूल मूल्यांकनमा फरक छैन,’ अधिकारीले थपे ।
उक्त निर्णय नेपाल सरकारको चालु आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रमसँग टेकेर गरिएको हो । नीति तथा कार्यक्रमको ६४औं बुँदामा भनिएको छ, ‘विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यवसायिक वा विश्वविद्यालय शिक्षामा प्रवेश गराइने छ ।’