एमाले बैठकमा ट्रम्प, सी जिन पिङ र मोदीको उमेरको चर्चा

काठमाण्डु टुडे २०८२ साउन ६ गते १९:४९ मा प्रकाशित

काठमाण्डू, ६ साउन– हिजो (सोमबार) देखि ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा जारी केन्द्रीय कमिटीको ९ औँ बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिन पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उमेरको बारेमा चर्चा भएको छ । आज (मंगलबार)को बैठकमा एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले पार्टीमा उमेर हदको विषय प्राविधिक भएको भन्दै उक्त विषयमा बहस नगर्न आग्रह गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले ट्रम्प, सी जिन पिङ र मोदीको उमेर उल्लेख गर्दै यस्तो बताएका हुन् । ट्रम्प ७९, सी जिन पिङ ७२ र मोदी ६४ वर्षका भएको भन्दै यस्तो बहसमा समय बर्बाद नगर्न आग्रह गरेका हुन् । उनले भने, ‘पुँजीवादी मुलुक अमेरिकामा सन् १९४६ जुन १४ मा जन्मिएका ७९ वर्षका डोनाल्ड ट्रम्प राष्ट्रपति छन् ।

समाजवादी मुलुक भनिएको चीनमा सन् १९५३ जुन १५ मा जन्मिएका सी जिन पिङ राष्ट्रपति छन्, ‘भारतमा सन् १९५० सेप्टेम्बर १७ मा जन्मिएका ७४ वर्षीय नरेन्द्र मोदी प्रधानमन्त्री छन् । यस्तो प्राविधिक विषयमा विवाद गरेर समय बर्बाद नगरौं ।’ उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा प्रवेशलाई स्वीकार गर्न नसकिने तर्क गरेका छन ।

उनले भने, ‘नेपालको संविधानको भावना बमोजिम राजनीतिक व्यवहार गर्ने काममा नेकपा एमाले अब्बल देखिन आवश्यक छ,’ मानन्धरले बैठकमा भने, ‘त्यसैले कुनै पनि किन्तु परन्तु बाहानामा पूर्वराष्ट्रपतिको राजनीतिमा प्रवेश स्वीकार्य छैन ।’

पूर्व राष्ट्रपतिलाई राजनीतिमा जोडेर नेपाली जनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको धर्म र भावनालाई खेलवाड गर्न नहुने उनको तर्क थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us