
काठमाण्डू, २६ असार– कैलालीमा बाढीले बगाएका दुई महिलाको शव भेटिएको छ । कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव भेटिएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ जिल्ला प्रहरी कार्यालयका अनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएर बेपत्ता भएकी घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनबुदिया चौधरीको शव भेटिएको छ ।
वेवारिसे अवस्थामा नदी किनारमा भेटिएको शव सनाखतपछि उनकै भएको खुलेको हो । यस्तै, गोदावरी नगरपालिका–२ को महराकटानमा गोदावरी नदी किनारमा अन्दाजी ५६ वर्षीया महिलाको शव भेटिएको छ ।
विभत्स अवस्थामा रहेको शवको सनाखत हुन सकेको छैन । शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । गौरीगंगा नगरपालिका–२ को पूरानो चौमाला बजार नजिकैबाट नदी तर्ने क्रममा बगेका अन्दाजी ५० वर्षका पुरुष भने बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।