
काठमाण्डू, २४ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा कार्यसूचीमा रहेका दुई विषय हटाइएपछि सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)बिच सवाल जवाफ भएको छ ।
सभामुख घिमिरेले सदनको मंगलबारको बैठकको कार्यसूचीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भन्ने कार्यसूची हटाएका थिए ।
त्यसमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति व्यक्त गरे । उनले प्रतिनिधिसभा नियमावलीको नियम २६ अन्तर्गत समय माग्दै भने, ‘हामी माननीयहरू कार्यसूची अनुसार तयारी गरेर आउँछौँ । तर एकाएक हटाइन्छ । यसले हामी समस्यामा परेका छौँ । सरकारलाई नियम लाग्नु पर्दैन । सदनलाई व्यवस्थित गरियोस् ।’ त्यसपछि सभामुख घिमिरेले निर्धारण गरिएको कार्यक्रम सभामुखले नै स्वीकृत गर्ने र हटाउने विधि रहेको जवाफ पाण्डेलाई दिए ।
सभामुख घिमिरेले भने, ‘निर्धारित गरिएको कार्यक्रम यहाँबाट स्वीकृत गरिन्छ, यहाँबाट नै हटाइन्छ । विशेष कारणले हटाइने विधि हो । त्यही विधिको आधारबाट गरिन्छ ।’ त्यसमा माओवादीले आपत्ति जनाइरहे पनि सभामुखले अगाडिको कार्यसूची अघि बढाए ।