
क्वालालम्पुर, २१ असार– नेपालले सिङ्गापुरमाथि रोमाञ्चक २ विकेटको जित निकाल्दै एसीसी यू–१६ इस्ट जोन कप २०२५ को उपाधि आफ्नो पोल्टामा पार्यो ।
मलेसियास्थित युकेएम वाइएसटी ओभलमा सम्पन्न फाइनल खेलमा साविक विजेता नेपालले उपाधि रक्षा गर्दै प्रतियोगिताको उपाधि दोहोर्याएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुर ४०.५ ओभरमा ११३ रनमै समेटिएको थियो । जवाफमा नेपालले २९ ओभरमै ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
नेपालका लागि जोई थापाले २४ रनमा अविजित रहँदै संकटको अवस्थामा सम्हालु इनिङ खेले । उनले ५३ बलमा ३ चौका प्रहार गरे । अन्तिम ओभरको अन्तिम बलमा अभय यादवले छक्का प्रहार गर्दै नेपाललाई उपाधि जिताएका हुन् । अभयले १२ बलमा १० रन बनाए र जोईसँग नवौं विकेटका लागि २५ रनको अविजित साझेदारी गरे ।
नेपालको सुरुआत राम्रो रहेन । ओपनर परिमार्जन यादवले १३ रन बनाउँदा प्रसिद्ध जैसीले १७ रनको योगदान दिए। श्रीवांश बजगाईले २० रन र शुभम खनालले १८ रन जोडे । तर, मध्यक्रमको धराशयी प्रदर्शनले नेपाल संकटमा परेको थियो । ५८ रनमै ५ विकेट गुमाइसकेको अवस्थामा जोई थापाले एकतर्फी जिम्मेवारी उठाउँदै नेपाललाई जिततर्फ डोर्याए ।
सिङ्गापुरका लागि बलिङमा कपिस बेनकात्राम सबैभन्दा सफल रहे। उनले ४ विकेट लिए। युवान पाण्डेले २ विकेट हात पार्दा वेदांश गुप्ता र आकाश तेजाले १-१ विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको सिङ्गापुर ४०.५ ओभरमा अलआउट भयो। रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए । उनले ८४ बलमा २ चौका प्रहार गरे । कप्तान रियान नैक १५ रनमा आउट भए । वेदांश गुप्ता १२ रनमा अविजित रहे । आकाश तेजाले १० रन बनाएर टोलीलाई १०० रन कटाउन मद्दत गरे ।
सिङ्गापुरको अन्तिम विकेटका लागि आकाश तेजा र वेदांश गुप्ताबीचको २५ रनको साझेदारी नै टोलीको सबैभन्दा ठूलो साझेदारी रह्यो । १२ ओभरमै ६ विकेट गुमाएको सिङ्गापुर १०० रन पार गर्न संघर्षरत देखिएको थियो ।
नेपालका बलरहरूमध्ये सुशील बहादुर रावल र अभय यादवले समान ३–३ विकेट लिए । शुभम खनालले २ विकेट लिँदा कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए ।
यो जितसँगै नेपालले यू–१६ इस्ट जोन कपको उपाधि लगातार दोस्रो पटक जितेको छ। कठिन परिस्थिति र दबाबबीच उभिएर नेपालले देखाएको संयमता र आत्मविश्वास प्रशंसनीय रह्यो ।