
काठमाण्डू, १२ असार– कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारले सञ्चालन गरिरहेको मनमोहन प्राविधिक विश्वविद्यालय कुनै एउटा पार्टीको विद्यालय जस्तो भएको तर्क गरेका छन ।
आज (बिहिबार) बसेको कोशी प्रदेशसभा बैठकमा पूर्व मुख्यमन्त्री कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालय पार्टीको विद्यालय बनेको बताएका हुन । पूर्व मुख्यमन्त्री कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालयमा कुनै एउटा पार्टीको सङ्गठित सदस्य नभई जागिरसमेत पाउने अवस्था नरहेको दाबी गरे ।
उनले मनमोहन प्राविधिक विश्वविद्यालयलाई प्रदेश सरकारले पैसा दिने तर, एउटा पार्टीका कार्यकर्ताले हालीमुहाली गर्ने प्रवृत्ति गलत भएको बताए । कार्कीले भने, ‘मनमोहन प्राविधिक विश्वविद्यालय प्राविधिक विश्वविद्यालय हैन पार्टी विद्यालय बनेको छ ।’ कार्कीले सरकारले पैसा मात्रै दिने नभई प्राविधिक विश्वविद्यालय सुधार गर्नसमेत आवश्यक रहेको पनि बताए ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दाजुको पोखरीमा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च गरेको प्रति लक्षित गर्दै पूर्व मुख्यमन्त्री केदार कार्कीले बजेटका लागि एउटा पोखरी खनिरहनु पर्ने अवस्था रहेको बताए । उनले भने,‘बजेट राख्नकै लागि भए पनि एउटा पोखरीचाहिँ खनिरहनुपर्ने रहेछ ।’ कार्कीले सरकारले कृषिलाई बजेटमा उपेक्षा गरेको आरोपसमेत लगाए ।