
रौतहट, २६ जेठ– सरकारी सूचना बिनै विज्ञापन प्रकाशित भएको देखाएर रकम भुक्तानी लिएको आरोपमा एक दैनिक पत्रिकाका सम्पादकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा अघि सारिएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा कृषकहरूलाई वितरण गर्न लागिएको औषधि छर्कने ट्यांकीको खरिद प्रक्रियामा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको थियो । अनुसन्धानको निष्कर्षमा सरकारी कर्मचारी र संचारकर्मीबीचको मिलेमतो देखिएको बताइएको छ ।
यसैक्रममा अख्तियारले जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, सहलेखापाल नवीनकुमार यादव, साथै तराई पोष्टसँग सम्बन्धित रुपेन्द्र पटेल र ओमप्रकाश यादवमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
छानबिनका क्रममा बोलपत्र आह्वानको सूचना कुनै पत्रिकामा छापिएको प्रमाण नदेखिइकनै विज्ञापन प्रकाशित भएको देखाएर जनसवाललाई १ लाख ७२ हजार ८ सय २५ र तराई पोष्टलाई ३९ हजार ४ सय गरी जम्मा २ लाख १२ हजार २ सय २५ को भुक्तानी गरिएको पाइएको हो ।
यसबाहेक, भुक्तानीका लागि तयार पारिएका कागजातहरूमा विवरण मेटिने गरी हेरफेर गरिएको र चेकमा उल्लेख गरिएको नामसमेत परिवर्तन गरिएको खुलासा अख्तियारले गरेको छ ।
आयोगको भनाइ अनुसार, दस्तावेजमा छेडछाड गरी प्रक्रिया गलत तरिकाले अगाडि बढाइएको तथा सरकारी स्रोतबाट अनुचित लाभ लिने कार्यमा संलग्न रहेको ठहरसँगै ती पाँचजनामाथि भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको हो ।