एमालेसँग पालिकासम्मै संयन्त्र बनाउने काम गलत छः शेखर कोइराला

काठमाण्डु टुडे २०८२ वैशाख २२ गते १५:५१ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग भएको सात बुँदेको कार्यान्वयनमा चुकेको दाबी गरेका छन ।

आज (सोमबार) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले भने, ‘सात बुँदे सम्झौतामा यो सरकार बनेको हो । सात बुँदेका कुराहरू जुन छन्, संविधान पुनरावलोकन गर्ने कुरा, आर्थिक सुधार, भ्रष्टाचार अन्त्य गर्ने कुरा, दण्डहिनताको अन्त्य र सुशासनको कुरामा सरकार चुकेको छ ।’

संविधान पुनरावलोकन गर्न संसद्‌भित्र भएका सबै दलको प्रतिनिधित्व गरेर सरोकारवालालाई समावेश गरेर अघि बढ्न सक्नुपर्ने उनले पनि उनले बताएका छन । उनले आफ्नो पार्टीमा सरकारबारे कुनै समस्या नभएको पनि स्पष्ट पारेका छन । कांग्रेस नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसभित्र कुनै समस्या छैन । त्यो उहाँ (एमाले) हरूलाई लागेको छ । कति मिडियाले गलत प्रचार पनि गर्छन् ।

यो सरकारलाई असफल हुने छुट छैन ।’ उनले सरकारमा सँगै रहेका दलहरूबीच पालिकास्तरसम्म संयन्त्र बनाउने निर्णय गलत भएको पनि बताएका छन । उनले थपे, ‘बाहिर बसेका संयन्त्र बनाउन हुँदैन ।

डेमोक्रेटिक सिस्टममा जाने हो भने सरकारभित्र संयन्त्र बनाउनुस्, बाहिरको संयन्त्र बनाउने होइन, ‘पालिकासम्म संयन्त्र बनाएर जाने भनेर नेपाली कांग्रेस र एमालेले निर्णय गरेको छ, त्यो गलत छ भनेको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us