दुई दिनदेखि बेपत्ता थिए गोपाल टन्डन, हाइटेन्सन लाइनको खाल्डोमा मृत भेटिए

काठमाण्डु टुडे २०८२ वैशाख २२ गते १३:११ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– रूपन्देहीको तिलोत्तमा–२ शंकरनगरका गोपाल टन्डन दुई दिनदेखि बेपत्ता भएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । उनी लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सहित आइतबारदेखि बेपत्ता थिए ।

उनको परिवारले टन्डनको खोजीका लागि प्रहरीमा निवेदन समेत दिएका थिए । हराएको निवेदन परेसँगै प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिएको थियो । खोजीको क्रममा २० वर्षका टन्डन बुटवल उपमहानगरपालिका–११ स्थित हाइटेन्सन लाइनको खाल्डोमा मोटरसाइकल सहित मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनको दुर्घटनामा परेर मृत्यु भएको बताएको छ । प्रहरीका अनुसार हाइटेन्सन लाइनलाई हटाएर मोनोपोल जडान गर्न बनाइएको खाडलमा टन्डन मोटरसाइकलसहित मृत भेटिएका हुन् ।

रातिको समयमा अनियन्त्रित रूपमा मोटरसाइकल हुइकाउँदा टन्डनको खाल्डोमा परेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी इन्द्रबहादुर रानाले टन्डनको शव र उनले चलाएको लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सोमबार बिहान फेला परेको बताए ।

‘परिवारले आइतबार युवक हराएको भनेर निवेदन दिनुभएको रहेछ,’ डीएसपी रानाले भने, ‘राति दुई बजेटेको समयमा तीव्र गतिमा चलाएको मोटरसाइकल माटोको ढिस्को नाघेर खाडलमा परेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ टन्डनको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us