राप्रपालाई सूर्य थापाको प्रश्नः सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ?

काठमाण्डु टुडे २०८२ वैशाख २२ गते १३:०६ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– एमाले सांसद सुर्य थापाले सांसद गीता बस्नेतको खोजीमा सहयोग गर्न उनकै पार्टी राप्रपालाई आग्रह गरेका छन् । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन ।

एमाले सांसद थापाले भने, ‘छिपछिपे सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्नो सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुस् ।’ राप्रपाकी सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन् ।

नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।

छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख हिनामिनाको विषयमा अनुसन्धान हुँदा सांसद बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा ९६ लाख ऋण लगानी भएको खुलेको थियो । चितवनको सनराइज सहकारीबाट तीनजना व्यक्तिको नाममा करिब ९ करोड लगेर रिसोर्टमा लगानी भएको प्रहरीको प्रतिवेदनमा छ ।

बर्दियाको नमस्ते सहकारीबाट सञ्जीवकुमार महतोका नाममा समेत २५ लाख निकालेर रिसोर्टमा लगानी भएको छ । नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी सांसद बस्नेत भने पक्राउ पुर्जी जारी भएयता १ वर्षदेखि फरार भएकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us