झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाण्डु टुडे २०८२ वैशाख २२ गते १३:०१ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– प्रहरीले झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ । गोली चलाएर नियन्त्रणमा लिने प्रयास भए पनि लागुऔषध कारोबारी भने भाग्न सफल भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बिहान पौन ९ बजेतिर कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गरेको थियो । सो क्रमा बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई रोकेर जाँच गर्न लाग्दा उनी आफ्नो झोला समेत छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन ।

ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाए पनि उनी भाग्न सफल भएका थिए । झापाका डीएसपी खड्काले भने दुई राउण्ड हवाई फायर गरिएको जानकारी दिएका छन ।

ती व्यक्ति मोटरसाइकल र झोला समेत छाडेर भागेका थिए । उक्त झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us