
काठमाण्डू, २२ वैशाख– ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन अवरोध भएको छ ।
गएराति बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किए र कारमा सवार तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बीएण्डबी अस्पताल पठाइएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार मापसे गरी सवारी चलाउँदा कार दुर्घटना भएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको देखिन्छ । दुर्घटनाको प्रकृति हेर्दा कार तीव्र गतिमा भएको अनुमान गर्न सकिन्छ ।
११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको प्रहरीले जानकारी दिएको छ ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरुसमेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ । पूर्व ट्राफिक प्रहरीसमेत रहेका ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने, ‘मैले गाडी ठोक्किएर पोल ढलेको, बांगो भएको त देखेको छु तर सडक किनारमा गाडिएको पोल भाँचिएर बीच सडकमा पुगेको चाहिँ देखेको थिइँन ।’