
काठमाण्डू, २१ वैशाख- जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा भएको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
योसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहितका व्यक्तिहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न बाटो खुलेको छ ।
उनीहरूमाथि राज्यविरुद्धको कार्य र संगठित अपराधसम्बन्धी आरोपमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि पछिल्लोपटक अदालतले सात दिनका लागि हिरासतमा राख्ने अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि आइतबार उनीहरूलाई पुनः अदालतमा उपस्थित गराएर थप म्याद लिइएको हो ।
तीनकुने घटनासँग जोडिएका अभियोगमा हालसम्म ५६ जना प्रहरी नियन्त्रणमा छन् । तीमध्ये २५ जनालाई गम्भीर अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ भने बाँकीमाथि आपराधिक उपद्रवका मुद्दा चलाइएको छ । पक्राउ परेकामध्ये ३३ जनालाई हाजिरी जमानीमा छाडिएको छ ।