
काठमाण्डू, २१ वैशाख- राजधानीबाट ठूलो मात्रामा श्रोत नखुल्ने अवैध रकमसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको हो ।
पशुपति भिजनस्थित पिङ्गलास्थान अगाडिबाट दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिइएको परिसरका एसपी अंगुर जिसीले जानकारी दिए ।
पक्राउ पर्नेमा काठमाण्डूको तारकेश्वर नगरपालिका-३ का २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोर्दी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन् ।
घटनाबारे थप अनुसन्धान जारी राखिएको एसपी जिसीले बताए ।