
काठमाण्डू, २१ वैशाख- काठमाण्डू जिल्ला अदालतले प्रहरी हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उपचार गराउन आदेश दिएको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबार प्रसाईंलाई हिरासतमै राखेर आवश्यक स्वास्थ्य उपचार सुनिश्चित गर्न आइतबार आदेश दिएको हो ।
आफू क्यान्सर पीडित भएकाले उपचार प्रबन्ध मिलाइदिन माग गर्दै प्रसाईंले अदालतमा निवेदन दिएका थिए । त्यसका लागि आफूलाई तारेख वा हाजिरी जमानीमा छाड्न प्रसाईंले माग गरेका थिए । तर, अदालतले उनीमाथि ज्यानसम्बन्धी गम्भीर आरोपमा अनुसन्धान जारी रहेकाले तत्काल रिहा गर्न नसकिने स्पष्ट गरेको छ ।
यसअघि पनि अदालतले प्रसाईंको उपचार व्यवस्था मिलाउन प्रहरीलाई आदेश दिएको थियो । १५ चैतमा तीनकुनेमा आयोजित राजावादीहरुको प्रदर्शन हिंसात्मक भएपछि भागेर भारत पुगेका प्रसाईंलाई प्रहरीले २९ चैतमा काँकडभिट्टा नाकाबाट पक्राउ गरी काठमाण्डू ल्याएको थियो । प्रसाई राजावादीले गरेको हिंसात्मक प्रदर्शनका जनकमाण्डर थिए ।
राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई किच्ने गरी गाडी कुदाएर उत्पात मच्चाएका थिए । उक्त प्रदर्शनमा एक सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो ।
राजावादी समूहले व्यक्तिका घर, व्यवसायिक प्रतिष्ठान, एकीकृत समाजवादीको पार्टी कार्यालय, जटिबुटीस्थित औषधि प्रशोधन केन्द्र र ५ दर्जन बढी निजी तथा सार्वजनिक सवारी साधनमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।
प्रहरीले उक्त घटनामा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महमन्त्री धवलशमशेर राणासहित ८० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई राजद्रोह, संगठित अपराध, लुटपाट तथा सार्वजनिक उपद्रवसहित मुद्दा चलाइएको छ ।