समृद्ध नेपाल, सुखी नेपाली’को नारा हाम्रो मात्रै होइनः एमाले

काठमाण्डु टुडे २०८२ वैशाख २१ गते १८:१८ मा प्रकाशित

काठमाण्डू, २० वैशाख– सत्ता घटक दल एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एउटा मात्रै दलको नभएको बताएको छ । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

यसअघि शनिबार दिउँसो बसेको सत्तारुढ घटक नेपाली कांग्रेसको संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममा प्रयोग भएका नाराहरूबारे प्रश्न उठेको थियो । कांग्रेस सांसद जीवन परियारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा राखेकोप्रति आपत्ति जनाएका थिए । ‘सम्मुनत नेपाल, सम्मानीत नेपाली’ भन्ने कांग्रेसको नारालाई समावेश नगरेकोमा उनको आपत्ति थियो ।

यसबारे सञ्चारकर्मीले राखेको जिज्ञासा मेटाउँदै उपमहासचिव ज्ञवालीले भने, ‘केही केही नेताहरूले यसबारेमा बोल्नुभएको हामीले पनि सुन्यौं । पहिलो कुरा म निवेदन गर्छु, समृद्ध नेपाल सुखी नेपालीको नारा कुनै बेला एउटा दलले अघि सार्‍यो होला, उसको घोषणापत्रमा आयो होला ।

तर, अब यो नारा एउटा दलको मात्रै रहेन ।’ पन्ध्रौं र सोह्रौं पञ्चवर्षीय योजनामा हाम्रो दीर्घकालीन सोच र भिजनको रुपमा समृद्ध नेपाल सुखी नेपालीको कुरालाई निरन्तरता दिएको उनले स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us