
काठमाण्डू, २० वैशाख– शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् एकताको महाधिवेशनबाट ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । महाधिवेशनले महेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
शनिबार र आइतबार काठमाण्डूको हायात रिजेन्सीमा आयोजित महाधिवेशन सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न सफल भएको हो । संघको उपाध्यक्षमा खगेन्द्र दाहाल, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप लिम्बु (तगेला) र बुद्धिसागर सुवेदी चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ चयन भएकी छिन् भने महासचिवमा बाबुराम लामा छन् ।
यसैगरी खुला सचिवमा टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे छन् । सचिव खुला महिलामा देवकी खत्री गुरुङ र कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना निर्विरोध चयन भएका छन् । यस्तै सहकोषध्यक्ष खुलामा कृष्णप्रसाद पोख्रेल चयन भएका छन् । सहकोषध्यक्ष महिलामा भने उम्मेदवारी नपरेको बताइएको छ ।
महिला संयोजकमा रशमी थापा र युवा संयोजकमा भीमसेन थापा निर्विरोध छन् ।ओसेनिया क्षेत्रीय उपसंयोजकमा रामप्रसाद कँडेल र प्रताप राना निर्विरोध छन् । सर्वोच्च अदालतले एक वर्षअघि २१ चैत २०८० मा घले नेतृत्वको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।
साथै, आदेशमा २०७८ चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भएको एनआरएनएको दशौं महाधिवेशन खारेज गर्न पनि भनिएको थियो । सोही अनुसार उनले एकताको महाधिवेशन आयोजना गरेका हुन् । तर, डा. बद्री केसी नेतृत्वमा रहेको एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले यो महाधिवेशनलाई मानेको छैन । केसी नेतृत्वको कार्यसमितिलाई पनि सर्वोच्चकै अर्को इजलासले कामकाज अघि बढाउन नरोक्नू भन्ने अन्तरिम आदेश दिएको थियो ।
यसपटक केसीसँग पराजित आरके शर्मा र महेश श्रेष्ठ घले नेतृत्वको महाधिवेशनमा सहभागी भएका थिए । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाधिवेशन उद्घाटन गर्दै मन्त्रालयले मान्यता दिने एनआरएनए यही हुने बताएकी थिइन् ।यसैगरी एसिया प्रशान्त क्षेत्रीय संयोजकमा डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजकमा प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, उत्तर–दक्षिण अमेरिका क्षेत्रीय संयोजकमा डिलुराम पराजुली र ओसेनिया क्षेत्रीय संयोजकमा इर्सद अहमद चयन भएका छन् ।
अफ्रिका क्षेत्रीय संयोजकमा भने उम्मेदवारी नपरेको उल्लेख छ । यस्तै एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा रामप्रसाद खरेल र लोकेन्द्र ओली, युरोप क्षेत्रीय उपसंयोजकमा माधव पोखरेल र भीमबहादुर पुर्जा, मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई निर्वाचित भएका छन् भने उत्तर–दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकमा शिवराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री चयन भएका छन् ।