
एजेन्सी– भारतको गोवा शिरगाउँस्थित प्रसिद्ध लैराईदेवी मन्दिर परिसरमा शनिबार बिहान श्रद्धालुहरूको भीडमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गएको छ ।
उक्त घटनामा ५० भन्दा बढी घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
विशेष धार्मिक मेलाको अवसरमा गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौं श्रद्धालुहरू मन्दिर पुगेका थिए । अत्यधिक भीडका कारण अवस्थामाथि नियन्त्रण गुमेको र त्यसकै परिणामस्वरूप भागदौड भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनापछि गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकप्रति समवेदना प्रकट गर्दै घाइतेको उपचारमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
यसैबीच, राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।