
काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले विपक्षीमाथि जाइलाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
शनिबार सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दल बैठकमा ओलीले पार्टी नेतृत्व र सरकारमाथि हमला हुँदा मौन बसेको भन्दै सांसदहरुसँग असन्तुष्टि जनाए ।
ओलीले सरकारको नीति तथा कार्यक्रमलाई आँखा चिम्लिएर समर्थन गर्न सांसदहरुलाई आग्रह गरे । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदको संयक्त सदनमा प्रस्तुत गरेका थिए ।
ओलीले विपक्षीहरुले विरोध गर्दैमा नघोत्लिन भन्दै नीति कार्यक्रमको प्रतिरक्षा गर्न भने ।
‘माननीय सदस्य ज्यूहरूलाई के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन् । सही छन् भन्ने कुरामा ढुक्कले अगाडि बढ्नुभए हुन्छ’, ओलीले भने, विपक्षीले जस्तोसुकै राम्रो नीतिको विरोध गर्नु र समर्थन गर्नुपर्ने बाध्यात्मक परिस्थिति हुन्छ । त्यसैले विपक्षीहरूको भनाइमा घोत्लिनुपर्ने अवस्था छैन ।’
विपक्षी दलहरूले नीति तथा कार्यक्रम राम्रै भएपनि समर्थन नगर्ने उनको भनाइ थियो । आफूहरुले असत्य कुरा नीति कार्यक्रममा नलेखेको दाबी गर्दै ओलीले विरोधीले सत्य र असत्य दुवैको विरोध गर्ने उल्लेख गरे । ‘जति विरोध गर्ने हो सत्यकै विरोध गर्ने हो । सही कुराको विरोध गर्न बाध्य छन्’, ओलीले भने ।
नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएको दाबी गरे ।
ओलीले पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रुपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवर र आमजनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको बताए ।
समाजमा वञ्चितहरुको पहुँचवृद्धि हुनुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको दाबी गरे ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विश्नु पौडेल, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र आर्थिक सल्लाहकार युवराज खतिवडाले नीति कार्यक्रमबारे धारणा राखेका छन् ।