
एजेन्सी– अस्ट्रेलियामा आज आम निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ ।
आगामी नेतृत्व र नीतिगत दिशा निर्धारण गर्ने यो महत्त्वपूर्ण निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको लेबर पार्टी र विपक्षी लिबरल–नेशनल गठबन्धनका नेता पिटर डटनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
अस्ट्रेलियामा कुल १ करोड १८ लाख मतदाता रहेका छन्। यसपटकको मतदानमा लगभग ८ मिलियन मतदाताले अर्ली भोटिङ गरिसकेका छन् । अस्ट्रेलियामा १८ वर्ष नाघेका सबै नागरिकका लागि मतदान अनिवार्य हुने व्यवस्था छ । जसका कारण मतदानमा धेरैको सहभागिता रहने सम्भावना छ ।
लोकप्रियता र जनमत सर्वेक्षण
सर्वेक्षणहरुमा प्रधानमन्त्री अल्बानिजको लोकप्रियता घटेको देखाएको थियो । मुद्रास्फीति र ब्याजदर वृद्धि जस्ता समस्याहरूले सरकारप्रति असन्तुष्टि बढाएको पाइएको सर्वेक्षणहरुमा उल्लेख छ । तथापि, पछिल्लो समयको सर्वेक्षण परिणाममा लेबर पार्टीलाई फाइदा पुग्ने देखिएको छ।
क्विन्सल्याण्ड र न्यु साउथ वेल्समा प्राकृतिक विपत्तिका कारण सरकारको उद्धार र राहत कार्यको सराहना गरिएको छ । संघीय सरकारले जनताको समस्यामा देखाएको सक्रियता र सहकार्यले लेबर पार्टीको पक्षमा माहोल सिर्जना गरेको छ । यसका साथै, मार्च महिनामा ल्याइएको बजेटले शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रहरूमा सुधारका योजना समेटेको छ, जसले पार्टीलाई थप समर्थन दिलाउने अपेक्षा गरिएको छ ।
निर्वाचन र बहस
निर्वाचनपूर्वका बहसमा प्रधानमन्त्री अल्बानिज विपक्षी नेता डटनको तुलनामा अधिक प्रभावशाली देखिएका छन् । सर्वेक्षणमा अहिले लेबर पार्टीलाई ५३ प्रतिशत र लिबरल गठबन्धनलाई ४७ प्रतिशत समर्थन प्राप्त भएको अनुमान गरिएको छ ।
अस्ट्रेलियामा निर्वाचनको घोषणा ३३ दिनअघि गर्नु पर्ने प्रावधान अनुसार, २८ मार्चमा मे ३ को निर्वाचनको घोषणा गरिएको थियो । यसपटक तल्लो सदनका १५० र माथिल्लो सदनका ४० सिटको लागि मतदान भइरहेको छ। अस्ट्रेलियामा २०२२ मा ८९ प्रतिशत मतदान भएको थियो र यसपटक पनि ९० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरिएको छ।
हालको मतदान र सर्वेक्षणका आधारमा, लेबर पार्टीले चुनावमा आफ्नो बर्चश्व जोगाउने सम्भावना बढी छ ।