ब्राउन सुगरसहित तीन युवक पक्राउ

काठमाण्डु टुडे २०८२ वैशाख २० गते १०:२७ मा प्रकाशित

बर्दिया, २० वैशाख– प्रहरीले बर्दियाबाट लागू औषध ब्राउन सुगरसहित तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये दुई जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा साघुनघारी क्षेत्रमा चेकजाँचका क्रममा समातिएका हुन् भने तेस्रो व्यक्ति भने बेग्लै स्थानबाट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२८ माझठानाका २८ वर्षीय महेश तिवारी, तनहुँको ब्यास नगरपालिका–६ दमौलीका ३० वर्षीय बिपिन अधिकारी रहेका छन् ।

उनीहरू बिहीबार बेलुका भारतबाट पैदल नेपाल फर्किँदै गर्दा बर्दियाको बढैयाताल गाउँपालिका–८ स्थित साघुनघारीमा शंकास्पद रूपमा हिँडिरहेको देखिएपछि प्रहरीले जाँच गर्दा उनीहरूका साथबाट ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

बर्दिया प्रहरी प्रवक्ता डिएसपी चक्रडम्बर पालका अनुसार लागुऔषध फेला परेपछि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

सोही पालिकाको वडा नम्बर ३ सिमराका ३२ वर्षीय अर्जुन देवकोटा पनि ब्राउन सुगरसहित पक्राउ परेका छन्। उनलाई शुक्रबार दिउँसो बढैयाताल गाउँपालिका–६ बाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार देवकोटाको साथबाट ५८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

उनीमाथि पनि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us