
काठमाण्डू, २० वैशाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सन्देश दिँदै नेपालको लोकतान्त्रिक यात्रा र संविधान कार्यान्वयनमा सञ्चार माध्यमको योगदान अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।
मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा जारी सन्देशमा उनले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रेस जगतले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।
राजनीतिक रूपान्तरणदेखि सामाजिक परिवर्तनसम्मको यात्रामा नेपाली सञ्चार क्षेत्र सदैव जिम्मेवार रूपमा अगाडि बढिरहेको छ’, उनले सन्देशमा भनेका छन् ।
प्रचण्डले संविधानले प्रत्याभूत गरेका अधिकारलाई व्यवहारमा लागू गर्दै प्रेस स्वतन्त्रता जोगाउनु आजको आवश्यकता भएकोमा जोड दिए ।
सत्यतथ्यमा आधारित, निष्पक्ष र उत्तरदायी पत्रकारितालाई लोकतान्त्रिक व्यवस्थाको मेरुदण्डको रूपमा व्याख्या गर्दै प्रचण्डले अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणमार्फत समतामूलक तथा समुन्नत समाज निर्माणमा सञ्चारको योगदान अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक व्यवस्था सुदृढ बनाउन पत्रकार समुदाय सदैव जागरूक र प्रतिबद्ध रहोस् भन्ने शुभकामना उनको छ ।