
काठमाण्डू, १९ वैशाख– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको घटनालाई लिएर नेपाल सरकारले तत्काल कूटनीतिक सक्रियता देखाएको छ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले घटनापछि संवेदनशीलता देखाउँदै भारत सरकारसँग प्रत्यक्ष सम्पर्क गरिएको जानकारी दिएकी छन् ।
बिहीबार साँझ विश्वविद्यालयको छात्रावासमा बीटेक अध्ययनरत वीरगञ्जकी छात्रा प्रिशा शाह झुण्डिएको अवस्थामा फेला परेपछि घटनाले अन्तर्राष्ट्रिय स्तरमै चासो उत्पन्न गराएको छ । मन्त्री राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त घटनाको यथार्थ पत्ता लगाउन भारतको केन्द्र तथा ओडिसा राज्य सरकारसँग आधिकारिक संवाद सुरु भएको उल्लेख गरेकी छन् ।
“नेपाल सरकारले गम्भीरतापूर्वक घटनाको अवलोकन गरिरहेको छ,” उनले लेखेकी छन्, “दूतावासमार्फत प्रारम्भिक स्तरमै अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।”
नेपालको दिल्लीस्थित दूतावासले भारतीय प्रहरी र विश्वविद्यालय प्रशासनसँग समन्वय गरी अनुसन्धानमा सहजीकरण गरिरहेको छ। मृतककी परिवार भारत पुगुन्जेल शव पोस्टमार्टम नगर्ने सहमति भइसकेको पनि दूतावासले जनाएको छ ।
केआईआईटी विश्वविद्यालयमा यो पहिलो पटक यस्तो घटना घटेको होइन । यसअघि पनि फागुन महिनामा अर्की नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमै मृत भेटिएकी थिइन् । ती घटनापछि नेपाली विद्यार्थीले विरोधमा उत्रिए पनि विश्वविद्यालय प्रशासनले पर्याप्त गम्भीरता नदेखाएको आरोप लागेको थियो ।
पछिल्ला घटना र त्यसमा परराष्ट्र मन्त्रालयको सक्रियताले सरकारले विदेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षालाई लिएर लिएको चासो देखिएको छ । विद्यार्थी र अभिभावकहरूले पनि सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरिरहेका छन् ।
नेपाल सरकारको तर्फबाट अहिले भइरहेको सक्रियताले के भारतस्थित नेपाली विद्यार्थीको सुरक्षा सम्बन्धी नीतिमा दीर्घकालीन सुधार ल्याउनेछ तरु यो प्रश्न अब चर्किँदै गएको छ ।