
काठमाण्डू, १९ वैशाख– भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थीको निधनको खबरले फेरि एकपटक शिक्षा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
वीरगञ्जकी २० वर्षीया प्रिशा शाह बिहीबार साँझ होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
शाहको शव भेटिएको पुष्टि भारतस्थित नेपाली दूतावासले गरेको छ । कन्सुलर एसएसपी सञ्जीव शर्मा दासका अनुसार, बिहीबार बेलुका करिब ८ बजे शाह आफ्नो कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। स्थानीय भुवनेश्वर प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ भने शाहको परिवार नआउन्जेल शवलाई सुरक्षित राखिएको बताइएको छ ।
शाहको निधन एक्लो घटना होइन । यसअघि पनि सोही कलेजमा अध्ययनरत अर्की नेपाली विद्यार्थी, प्रकृति लम्साल, फागुन महिनामा मृत फेला परेकी थिइन् । त्यतिबेला उनले आफूमाथि मानसिक दबाब र ब्ल्याकमेल भएको भन्दै दुईपटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, गुनासोलाई गम्भीरतापूर्वक नलिएको आरोप कलेजमाथि लागेको थियो ।
लम्सालको मृत्युपछि क्याम्पसमा नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गरेपछि उनीहरूलाई दमन गरिएको थियो । कलेज प्रशासनले चेतावनीस्वरूप केही विद्यार्थीलाई होस्टेल खाली गर्न निर्देशनसमेत दिएको थियो । सुरक्षागार्डद्वारा भएको भनिएको कुटपिट घटनाले त्यसबेला ठूलो तनावको अवस्था सिर्जना भएको थियो ।
यसपटक पुनः यस्तै घटना दोहोरिएपछि विद्यार्थी, अभिभावक र कूटनीतिक निकायहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । दूतावासले पनि विगतका कमजोरीबाट पाठ सिक्दै यो घटनामा गम्भीरतापूर्वक ध्यान दिइएको जनाएको छ ।
नेपालका विद्यार्थीहरूको सुरक्षाको जिम्मेवारी लिने कलेज र सम्बन्धित निकायहरूको भूमिकामाथि चर्को आलोचना हुन थालेको छ । दोहोरिँदै गइरहेका यस्ता घटनाले अध्ययनरत नेपाली विद्यार्थीहरूको मानसिक स्वास्थ्य र सुरक्षामाथि नयाँ बहस जन्माएको छ।