
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख तीन दलका शीर्ष नेताप्रति लक्षित गर्दै श्री ३ हरूभन्दा श्री ५ नै ठिक हो कि भने जस्तो भ्रम मान्छेमा पर्न गएको बताएका छन ।
आज बिहीबार जनसंगठन नेपाल समाजवादी ट्रेड युनियन महासंघले काठमाण्डूको असनमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधमानमन्त्री डा.भट्राईले यस्तो बताएका हुन ।
उनले भने, ‘राजनीतिक दलका नेताहरूलाई खास गरी अहिले श्री ३ हरू भन्ने गरिन्छ । उनीहरूले पालैपालो तीन वर्षदेखि सत्तामा बसेर मोजमस्ती गरिराखेका छन् । उनीहरू नवराजा जस्तो बनेका छन् । त्यसले जनतामा अलि वितृष्णा आएर कतै फेरि यी श्री ३ हरूभन्दा श्री ५ नै ठिक हो कि भने जस्तो मान्छेलाई पर्न गएको छ । तर होइन।
श्री ३ त ठिक होइनन्, श्री ५ त झन् ठिक हुँदै होइनन् ।’ केही मान्छेहरूलाई झुटा सपना देखाउने, चुनाव जित्ने अनि सत्तामा गएर जनताले तिरेको करमाथि लुट मचाउनेलाई राजनीति भन्ने गरिएको उनको भनाइ छ । उनले भने, ‘श्री ५ का बाउबाजेले राज गरेर यो देशलाई कंगाल पारेका होइनन् रु अनि तिनले आफ्नै कारणले गर्दा वंशनाश भएर सिद्धिने, अनि तिनलाई ल्याउने कुरा हुँदैन ।
समस्या भनेको हाम्रा अहिलेका श्री ३ हरूमा हो ।’ अहिलेका राजनीतिक दलका नेताहरूले पार्टीलाई खाली राज्य सत्ताको दोहन गर्ने माध्यम बनाएको उनको आरोप रहेको छ ।
सत्तामा रहँदा भ्रष्टाचार गर्ने, कमिसन लिने, विभिन्न प्रोजेक्ट र बिचौलियाबाट अर्बौं सम्पत्ति लिने, अनि चुनावको बेलामा खर्च गरेर सत्तामा जाने प्रवृत्ति खासगरी १०–१५ वर्ष यता चलेको भट्टराईले बताएका छन ।
दलका नेताहरूको यही प्रवृत्तिका कारणा जनतामा वितृष्णा पैदा भएको उनको तर्क छ । हिजोका राजा महाराजा ठिक नभएको भन्दै उनले अहिले चुनिएर आएका ठूला भन्ने पार्टीका टाउके नेताहरूले पनि पुरानै ढंगले जनतामाथि विश्वासघात गरेको उनले बताए । राजनीतिलाई नै बदनाम गरेर राज्य सत्ताको दोहन गर्ने प्रवृत्तिलाई नै राज्य राजनीति भन्ने कुराको अन्त्य हुनुपर्ने पनि बताएका छन ।