सुरक्षाको बचाउमा प्रधानमन्त्रीले फेरि भनेः गीत नसुन्नेकै कानमा कानेगुजी पलाउँछ

काठमाण्डु टुडे २०८२ वैशाख १८ गते १८:२२ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन अघिदेखि विवादमा तानिएकी नायिका सुरक्षा पन्तबारे राजतन्त्र पक्षधरले गरेको आलोचनामाथि पुनः आपत्ति व्यक्त गरेका छन ।

आज (बिहिबार) एमाले निकट जिफन्टले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भुकुटिमण्डपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुनः आपति व्यक्त गरेका हुन ।

प्रधानमन्त्री ओलीले सत्तामा नहुँदै देखिएको उग्रता सत्तामै पुगेको भए के हुन्थ्यो ? भन्दै प्रश्न समेत गरेका छन । प्रधानमन्त्री ओलीले भने, ‘कलाकार होस्, गायक होस्, चित्रकार होस् जोसुकैलाई पनि उनीहरूको प्रशंसा गर्ने बाहेकलाई त्यसको गीत नसुन्ने रे,’ प्रधानमन्त्री ओलीले भने, ‘नसुने नसुनोस् न तिम्रै कानमा कानेगुजी पलाउँछ, अरु के हुन्छ ?’

यसअघि हिजो पनि उनले एक कार्यक्रममा पनि पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका थिए । केहीदिनअघि एक टेलिभिजन अन्तर्वार्तामा अभिनेत्री पन्तले पूर्वयुवराज पारस शाहका छोरा हृदयन्द्रमाथि गरेको टिप्पणीका कारण आलोचनाको शिकार बनेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us