गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयोः कमल थापा

काठमाण्डु टुडे २०८२ वैशाख १८ गते १६:१२ मा प्रकाशित

 

काठमाण्डू, १८ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन ।

अध्यक्ष थापाले अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको पनि बताएका छन । १६३ औं श्रमिक दिवसको अवसरमा राप्रपा नेपालआबद्ध मजदुर संगठन (टुकोन)ले बिहीबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन ।

उनले उदास, हतास र निरासालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएको पनि बताए । सम्पूर्ण राजावादी, हिन्दूवादी एक हुनुपर्ने अहिलेको माग भएको भन्दै उनले बर्खायाम शुरु हुनुअगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने पनि बताएका छन । थापाले समान विचार भएकाहरू सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुने धारणा राखे ।

उनले राप्रपा नेपाल सदैव श्रमिकको हक हितको पक्षमा पनि दावी गरे । कार्यक्रममा तारानाथ लुइँटेल, तेज कुरुङ्गवाङ्ग, यबती कार्की, हिक्मतजङ्ग भण्डारी, अजेलिया रञ्जितकारलगायतले धारणा राखेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us