एकचोटी फेरि नयाँ क्रान्तिको तयारी छौं, सरकारमा बस्ने रुचि छैनः प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख १८ गते १५:२३ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन ।

आज (बिहिबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्र्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले छिट्टै ठूलो आन्दोलनमा जानुपर्ने बताउँदै अहिले सरकारमा जाने कुनै रुची नभएको पनि बताएका छन । प्रचण्डले भने, ‘तपाईंहरू अब राम्रो तयारीमा जानुस् ।

छिट्टै हामी ठूलै आन्दोलनमा जानुपर्ने छ, ‘हामी यथास्थितिवादी पार्टीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । जनतासँगै ठिक छौं । हाम्रै वर्गसँग ठिक छौं ।’

आन्दोलनद्वारा तमाम समस्याको समाधान गर्न आफूहरू तयार अवस्थामा बस्नुपर्ने पनि उनले बताए । प्रचण्डले भने, ‘एकचोटी फेरि हामीलाई हिजो जनक्रान्तिमा साथ दिने, हिजोको पीएलएका सबै कमाण्डर र योद्धा साथिसँग, घाइते अपांगसँग, जेलनेल यातना भोगेकासँग, ०६४ मा हामीलाई माया गरेर मतदान गर्ने जनतासँग एकचोटी फेरि नयाँ क्रान्तिको तयारी हामीले गर्नैपर्छ ।’

साथै, उनले सरकारमा भएकाले दमन गर्न खोजे त्यो सम्भावना नहुने पनि बताएका छन । प्रचण्डले भने, ‘त्यो क्रान्ति शान्तिपूर्ण हुनेछ । यदी राज्य र सरकारमा हुनेले बल प्रयोग गरेर दमन गर्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न सकेको छैन । नेपालमा पनि रोक्न सक्ने छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us