संविधान संशोधन कांग्रेस–एमालेको प्राथमिकतामा परेनः माधव नेपाल

काठमाण्डु टुडे २०८२ वैशाख १८ गते १३:३२ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको दाबी गरेका छन ।

आज (बिहिबार) मे दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले ०८७ मा संविधान संशोधन हुने ओलीको भनाइ समेत स्मरण गरेका छन । संसारका धेरै देशमा सबैभन्दा ठूलो पार्टी सरकारमा जाने र दोस्रो ठूलो पार्टी प्रतिपक्षमा बस्ने अभ्यास विपरीत नेपालमा दुई ठूला पार्टी मिलेर सरकार चलाएको पनि बताएका छन ।

अध्यक्ष नेपालले भने, ‘संविधान संशोधन गर्नुपर्ने भएकोले मिल्नुपर्‍यो भनेर व्याख्या पनि गरेका छन्, ‘सरकारमा गएपनि संविधान संशोधन गर्नेमा बेलाबखतमा चर्चा गर्ने बाहेक उनीहरूको त्यो प्राथमिकतामा पर्दैन । हुँदाहुँदा २०८७ मा संविधान संशोधन गर्ने भनेर त्यसलाई पन्छ्याउने काम गरेको पाइन्छ ।’

अध्यक्ष नेपालले देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन र समीक्षा गर्नुपर्नेमा त्यसो हुन नसकेको पनि बताएका छन । अध्यक्ष नेपालले भने, ‘हाम्रो देशमा पनि २०७२ सालमा संविधान बनायौँ । त्यो संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गर्नुपर्ने काम पनि गरिएको छ, ‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका अधिकारलाई सुनिश्चित गर्ने गरी संविधानमा व्यवस्था गरिएको छ ।’

उनले संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गरिए पनि व्यवहारमा लागू हुन नसकेको धारणा राखे । ‘संविधानको कागजमा लेखिएको भएपनि त्यो व्यवहारमा लागू हुनसकेको छैन । व्यवहारमा लागू गर्ने कसरी यसको बारेमा गहिरो चिन्तन पनि छैन, बहसको पनि आवश्यकता महसुस गरिँदैन,’ उनले भने, ‘आफू सत्तामा कसरी पुग्ने, त्यस हिसाबले समय बिताउने काम गरिएको पाइन्छ ।’

उनले राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेर आफ्नो वास्तविक रूप देखाएको उनले टिप्पणी समेत गरेका छन । उनल भने, ‘अस्ति भर्खरै देख्नुभयो, इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउन मान्छेहरूले कोसिस गरेका थिए । उनीहरूले हामीले गरेकै कार्यक्रमको दिनमा अर्को आमसभा गरे । उनीको आमसभा अत्यन्तै हिंसात्मक रह्यो, हाम्रो पार्टी कार्यालयमा आगो लगाए ।

समान चोरेर लगे, तोडफोड गरे, यति सम्मकी मेरो घरमा पनि आक्रमण गरे । व्यापारीहरूको पसलमा पनि आगजनी गरे । निजी घरहरूमा पनि आक्रमण गरे र उनीहरूले आफ्नो वास्तविक रूप देखाए,’ उनले भने । अध्यक्ष नेपालले भने, ‘यिनीहरूको हातमा शासन जाने हो भने कसरी चलाउँदा रहेछन् त्यो कुरा उनीहरूले आफ्नो संस्कार देखाए ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us