
काठमाण्डू, १४ वैशाख– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी संसद्लाई गराउँदै छन् । सांसद राई शनिबार साँझ पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना संघीय संसद सचिवालय पुगिसकेको छ ।
सोही सूचना आइतबार सभामुख घिमिरेले सभामा सुनाउँदैछन् । प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउको जानकारीसम्बन्धी व्यवस्था छ । कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ ।
बैठक नचलेको अवस्थामा पक्राउको सूचना प्राप्त भए सूचना पाटीमा सोको सूचना टाँस गर्ने र सभा चलिरहेको अवस्थामा सभामै सुनाउनुपर्ने व्यवस्था छ । यसअनुसार सभामुख घिमिरेले सांसद राइ पक्राउ परेको जानकारी सभामा गराउन लागेका हुन् ।