
काठमाण्डू, ११ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्रप्रति जनस्तरमा बढ्दो असन्तोषलाई स्वीकार गर्दै त्यसको समाधान चरमपन्थी सोच वा कदममार्फत खोज्न नहुने बताएका छन् ।
लोकतन्त्र दिवसका अवसरमा बिहीबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले वर्तमान प्रणालीले अपेक्षित परिवर्तन दिन नसक्दा असन्तुष्टि हुनु स्वाभाविक मानिए पनि त्यसको विकल्प असहिष्णु वा अतिवादी बाटो हुन नसक्ने प्रस्ट पारे ।
ूलोकतन्त्र व्यवस्था अनुरूप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वाभाविक भए पनि यसको विकल्प कुनै पनि प्रकारको अतिवाद हुन सक्दैन,ू थापाले लेखेका छन् ।
उनले लोकतन्त्र केवल नारामा सीमित नहोस् भनेर सचेत गराउँदै भने, ‘लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ ।’
थापाले लोकतान्त्रिक अभ्यासलाई थप समावेशी, उत्तरदायी र परिणाममुखी बनाउन सबै राजनीतिक शक्ति र नागरिक समाज अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए ।
उनको भनाइले राजनीतिक नेतृत्व, संस्थागत कमजोरी र जनअपेक्षाबीचको असन्तुलनलाई सन्तुलित रूपले सम्बोधन गर्न लोकतान्त्रिक मूल्यमा आधारित व्यवहारिक सुधार आवश्यक भएको सन्देश दिन्छ ।