शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस्ः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८२ वैशाख ८ गते १६:२७ मा प्रकाशित

काठमाण्डू, ८ वैशाख– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेका छन । सम्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आग्रह गरेका हुन । आज (सोमबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् । मेरो आग्रह छ ।’ प्रधानमन्त्री ओलीले शिक्षकहरुले राखेका मागमा सरकार ‘नेगेटिभ’ नभएको पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘सरकार उहाँहरुका मागप्रति नेगेटिभ हुने कुरै छैन । सम्भव मागहरु सबै पूरा गर्छ ।’

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका छन् । उनीहरुको आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन् । प्रधानमन्त्री ओलीले यो आन्दोलनबाट फाइदा नभएको पनि बताएका छन ।

उनले भने, ‘उहाँहरुलाई कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ, ‘त्यसकारण मेरो आग्रह छ उहाँहरुलाई, वार्तामा आउनुस्, कुरा गर्नुस्, सम्भव कुरा सरकारले गर्दिन्छ ।

फर्किएर आ–आफ्ना काममा जानुस् ।’ यसअघि शिक्षक महासंघका नेताहरुले प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, शिक्षामन्त्री विद्या भट्टराई लगायतसँग आफ्ना मागबारे छलफल समेत गर्दै आएका छन् ।

तर सहमति नजुट्दा आज २० औं दिनसम्म पनि शिक्षकहरुले आन्दोलन जारी राखे । तर शिक्षकहरुले औपचारिक वार्ता गर्दैनौं भन्ने सुनेको बताउँदै प्रधानमन्त्रीले प्रश्न गरे, ‘अनौठै सुन्या छु मैले । आन्दोलन गर्ने वार्ता नगर्ने, के भन्या हो त्यो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us